भरतपुर । दुई जना मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट आइतबार राति डार्ट गरी नियन्त्रणमा लिएर चितवन ल्याइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको जानकारी दिए । बाघको आक्रमणबाट शुक्रबार र आइतबार दुई जनाको मृत्यु भएको थियो ।
उक्त बाघले गएको शुक्रबार राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा चितवनको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो । बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट पहिचान खुल्न नसकेको एक पुरुषको समेत शव फेला परेको छ ।
बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए ।
कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ । यहाँ बाघ राख्ने ठाउँ नभएपछि यसअघि नियन्त्रणमा लिएका तीन बाघलाई पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । नेपालमा रहेका तीन सय ५५ बाघमध्ये चितवनमा मात्रै एक सय २८ वटा छन् ।