काठमाडौं । निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारसँग माग गरेको छ । छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले कोषमा जम्मा भएको रकम उत्पादनका लागि प्रयोग गर्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषमा संकलित रकम मुलुकमा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । ‘कोषमा आबद्ध हुने योगदानकर्ताको उत्साह प्रसंशनीय छ, उनीहरूले कोषमा संकलन गरेको रकम लगानी गर्नु आवश्यक छ,’ अध्यक्ष ढकालले भने, ‘लगानी गर्ने क्षेत्र पहिचान गरी लगानीमार्फत रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो, यसको लागि उत्पादनमूलक, पर्यटनमूलक, कृषिमूलकलगायतका क्षेत्रमा लगानी गर्न सकिन्छ । मुद्दती निक्षेपमा राखी ब्याज खाने प्रवृत्तिभन्दा लगानी गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ ।’
यसैबीच कोषले संकलित रकमको ठूलो हिस्सा मुद्दती निक्षेपमा राख्दै आएको छ । कोषका अनुसार हालसम्म ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ । कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम आठ करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९७ लाख रहेको छ ।
यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रुपैयाँ रहेको छ । कोषमा हालसम्म १८ हजार चार सय ३९ जना रोजगारदाता र नौ लाख २८ हजार चार सय ५३ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार सात सय ९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार छ सय २२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध भएका हुन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकमा लगानी गर्ने क्षेत्र प्रशस्त हुँदा यति ठूलो आकारको रकमको सदुपयोग गर्नुपर्ने बताए । ‘उत्पादन र ऊर्जा क्षेत्रमा लगानीको लागि प्रशस्त सम्भावना रहेको छ, ती क्षेत्रमा लगानी गर्दा सो क्षेत्रको विकास हुनुको साथै नागरिकलाई आवश्यक सेवा प्रदान गर्नसक्नुको साथै लगानीमार्फत आत्मनिर्भरतर्फ लाग्न सकिन्छ’, अध्यक्ष अग्रवालले भने, ‘लगानीको बाटोहरू पहिचान गर्दै कोषको रकम सदुपयोग गर्नु अत्यन्त आवश्यक समेत रहेको छ ।’