काठमाडौं । हायर पर्चेज कारोबार गर्ने कम्पनीहरुले अबदेखि सोही प्रकृतिको नाम राखी कारोबार सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० (तेस्रो संशोधन २०७८)लाई संशोधन गरी हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० (चौथो संशोधन २०८०) जारी गरिएको र सोहीबमोजिम गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
निर्देशनअनुसार अबदेखि हायर पर्चेज कर्जा दिने कम्पनीको नामको पछाडि हायर पर्जेज कम्पनी प्रालि भनेर राख्नुपर्नेछ । यो निर्देशन जारी गर्नुपूर्व सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत यसै निर्देशनबमोजिम नाम परिवर्तन गरी २०८० पुस मसान्तभित्र जानकारी गराउनुपर्ने परिपत्रमा उल्लेख छ । परिपत्रअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी अर्थात् साधारण ३० करोड रुपैयाँबराबरको हुनुपर्नेछ । हायर पर्चेज कम्पनीलाई स्वीकृति दिँदा कम्पनीको चुक्ता पँुजीको शून्य दशमलव दुई प्रतिशतले हुने रकमबराबर स्वीकृति दस्तुर (फिर्ता नहुने) राष्ट्र बैंकमा बुझाएको भौचरसहित आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटी सम्झनु पर्नेछ ।
दर्ता तथा स्वीकृतिअन्तर्गत हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि आवेदन दिने कम्पनी सोही उद्देश्यसहित अनिवार्यरुपमा कम्पनी ऐन, २०६३ अन्तर्गत हायर पर्चेज कर्जा दिने कम्पनीको रुपमा पहिचान दिने किसिमको कम्पनीको रुपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तो कम्पनीले नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ बमोजिम नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति लिनुपर्ने उक्त व्यवस्थामा उल्लेख छ । हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि कम्पनीले राष्ट्र बैंकसमक्ष निवेदन दिँदा कम्पनीको सञ्चालक समितिले प्रतिबद्धता जाहेर गरेको कागजात पनि निवेदनको साथ पेस गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले समय–समयमा तोकिदिएबमोजिमको न्यूनतम चुक्ता पँुजी कायम राख्ने व्यहोरा, कारोबार सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरी सेवा तथा सुविधा प्रदान गर्नसक्ने पर्याप्त आधार रहेको व्यहोरा र हायर पर्चेज कर्जा दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेका सर्तहरु पालना गर्ने मन्जुरी लिएको हुनुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनी सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारका अतिरिक्त देहायका कुरामा आवश्यक जाँचबुझ गरी नेपाल राष्ट्र बैंक सन्तुष्ट भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन सक्नेछ । हायर पर्चेज कर्जा दिन स्वीकृति दिँदा सो कारोबार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारीरुपमा हुन्छ भन्ने लागेमा, प्रचलित कानुन र सोअन्तर्गत बनेको नियम, विनियम वा सोअन्तर्गत जारी भएका आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीका अधीनमा रही हायर पर्चेज कर्जा दिन सक्षम छ भन्ने लागेमा, स्वीकृतिको लागि दिएको निवेदनसाथ संलग्न विवरण तथा कागजातअनुसार कम्पनी हायर पर्चेज कर्जा दिन सक्षम छ भनी विश्वास गर्ने पर्याप्त आधार भएमा, कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले छ महिनाभित्र त्यस्तो कारोबार सुरु गरिसक्नु पर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोबार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुने व्यवस्था छ ।
बैंक वा वित्तीय क्षेत्रको विद्यमान अवस्था र सम्भाव्यताको आधारमा त्यस्तो कम्पनीलाई स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा, हायर पर्चेज कम्पनीको उपस्थिति बढी भएको क्षेत्रमा कम्पनी स्थापनाका लागि नयाँ निवेदन आएमा सो अस्वीकार गर्न सक्नेछ । हायर पर्चेज कर्जा दिन निवेदनसाथ पेस गरिएका विवरणहरु पर्याप्त वा विश्वसनीय नदेखिएमा, कुनै कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन नसकिने अवस्था भएमा नेपाल राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मिति वा थप विवरण माग गरेको भए त्यस्तो विवरण प्राप्त भएको मितिले एक सय २० दिनभित्र सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्नेछ । यो व्यवस्थाअनुसार बैंकले हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक दुई आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछिको साउन मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्नेछ । हायर पर्चेज कम्पनीको लागि आवेदन दिएका कम्पनीहरुमध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको वा कालोसूचीबाट हटेको तीन वर्ष नपुगेको सेयरधनी रहेको कम्पनीको निवेदनउपर नेपाल राष्ट्र बैंकले कारबाही अगाडि बढाउने छैन ।
हायर पर्चेज कर्जा दिने कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको १० गुणाभन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् । यस प्रयोजनको लागि खुद सम्पत्ति भन्नाले चुक्ता पँुजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकमलाई बुझाउनेछ । कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा चार प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ । कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । तर, २५ लाख रुपैयाँ वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुनेछैन ।
कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समूहलाई प्रदान गर्नसक्ने कर्जाको सीमा अघिल्लो त्रैमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर दुई प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुनआउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुलउपर गर्न पाइने छैन । राष्ट्र बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय–समयमा त्यस्तो ब्याजदरसम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ । यसरी नेपाल राष्ट्र बैंकबाट भएको ब्याजदरसम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुने उक्त व्यवस्थामा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागू गर्नुपर्नेछ । यस्तो तालिकाबमोजिम किस्ता रकम यथासमयमा प्राप्त नभएमा बाँकी बक्यौता रकमको नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । हायर पर्चेज कर्जा दिने कम्पनीले हायर पर्चेज कर्जाबाहेक अन्य कुनै पनि प्रकारका कर्जा प्रवाह गर्न तथा अन्य कुनै पनि व्यापार व्यवसाय गर्न नपाउने राष्ट्र बैंकले प्रस्ट पारेको छ ।