विराटनगर । नेपाल कृषि प्रधान देश भनिए पनि यस क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न भने नसकिएको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राज्य पुनर्संरचनापछि कृषिको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए ।
महासंघको आयोजनामा भएको कृषि समाचार सम्प्रेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले दिन प्रतिदिन कृषिमा समेत परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्रले पनि कृषि क्षेत्रका ओझेलमा परेका मुद्दाहरूलाई बहसमा ल्याउनुपर्ने बताए । यस्तै, उनले महासंघ उद्योगी, व्यवसायीहरूको मात्र पैरवी गर्ने संस्थाको रूपमा मात्र रहेको आमबुझाइ रहे पनि अब कृषक र पत्रकारलाई समेत जोड्ने सेतुको रूपमा समेत काम गर्ने बताए ।
निर्वाहमुखी कृषि प्रणालीको कृषिलाई अघि बढाउन ओझेलमा रहेका कृषिका मुद्दाहरूलाई संगठितरूपमा उठाउनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । अहिले पनि मिल्क होलिडे, चिया र अलैँची उत्पादन क्षेत्रको समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेशको कृषि, पशुपालन क्षेत्रको व्यावसायीकरणको वर्तमान अवस्था, सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवर्द्धन अवसरका लागि कृषि मूल्य शृङ्खलाका मुख्य–मुख्य क्षेत्र र मुद्दाहरू बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ४५ जनाको सहभागिता रहेको थियो ।