मोरङ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा(एमाले) र राप्रपाले विरोध जनाएका छन् । आज(मंगलबार)को प्रदेशसभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए । बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गर्दै उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपथ्र्यो त्यो भएन ।’ सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भनेर प्रश्न गरे ।
सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति एमाले, राप्रपा तथा कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन् । कोशीमा बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।