दमौली (तनहुँ) । लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई म्याग्दे गाउँपालिकाले राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु. दश हजारका दरले राहत वितरण गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु रु. दश हजारका दरले सहयोग प्रदान गरिएको जानकारी दिए । उनका अनुसार सातवटै वडाका किसानलाई गरी कूल रु. तीन लाख ५० हजार राहत प्रदान गरिएको छ ।
लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए ।
किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौं ।”
गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उनका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई उक्त खोप लगाइसकेको छ ।