काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आज विभिन्न ठाउँमा हल्का वर्षा हुने सम्भावना छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।