झुलाघाट (बैतडी) । बिहीबार बिहान बैतडीको झुलाघाटको महाकाली नदी किनारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी सङ्कल्प यात्रा प्रारम्भ गरेका छन् ।
उनले सङ्कल्प यात्रा आरम्भको उद्घाटन गर्दै यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली संवृद्ध नेपाल बनाउने यात्रा भएको बताएका छन् ।
अध्यक्ष ओलीले अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको बताए । पाँचथरको चिवाभञ्ज्याङ पुगेर झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पुस १ गते झन्डोत्तोलन गरी समापन हुने उनले बताए ।
सङ्कल्प यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठुलो योगदान पुर्याउने ओलीले बताए । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उनले बताए ।