काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा नेपाल एयरलाइन्सले बाँकी ३१ जना यात्रुलाई काठमाडौंमै छोडेको छ । वैदेशिक रोजगारीका लागि जान लागेका धेरैजसो नेपालीहरु प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान पाएनन् ।
प्रधानमन्त्री प्रचण्डसहितको टोली जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप(२८ मा सहभागी हुन गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजबाट दुबई जान टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् ।
नेपाल एयरलाइन्सले यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको जनाएको छ । नेपाल एयरलाइन्सको उडान प्रधानमन्त्रीलाई दुबई लैजान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले यात्रुहरुलाई नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भए ।
उडान समय अगाडि सारेको पूर्वजानकारी एयरलाइन्सले नदिएको सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका अधिवक्ता प्रज्वल विक्रम राणाले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेको उनले बताए ।