काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा प्रतिवादीका तर्फबाट जवाफी बहस सुरु हुँदैछ । उच्च अदालत पाटनले आज(बिहिबार)बाट प्रतिवादीतर्फका कानुन व्यवसायीहरुलाई जवाफी बहस सुरु गर्दैछ ।
यसअघि हिजो बुधबार सरकारी पक्षबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलहरु सहन्यायाधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरेका थिए । उनीहरुले प्रतिवादीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए । त्यसको जवाफी बहस गर्दै बिहीबार प्रतिवादीका वकिलहरुले थुना बाहिरै राखेर मुद्दाको किनार लगाउनु पर्ने तर्कसहित बहस गर्नेछन् । यसअघि मंगलबार निवेदक (मुद्दाका प्रतिवादी) पक्षका कानुन व्यवसायीले आफ्नो पक्षको बहस सकाएका थिए ।
प्रतिवादीका कानुन व्यवसायीले गर्ने जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ । जवाफी बहस सकिएको अवस्थामा आजै वा भोलि शुक्रबारसम्म फैसला आउने बताइएको छ । जवाफी बहस सकिएपछि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाउनेछ ।
२०७९ चैतमा तीन जनालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानले ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । अनुसन्धानको क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल व्यक्तिसहित विभिन्न मितिमा १८ जनालाई पक्राउ परेर मुद्दा चलाइएको थियो । ठगी, संगठित ठगी, राज्य विरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो । प्रतिवादीहरुले २८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी समेत गरिएको थियो ।
उनीहरुमध्ये जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेको इजलासले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बाँकी १६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका थिए । पछि यही केसमा फरार रहेका केशव तुलाधर पक्राउ परेर अदालत उपस्थित गराइएको थियो। असार ३१ गते माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी पनि रिहा भएका थिए । धरौटीमा रिहा भएका र पुर्पक्षमा कारागार चलान भएका सबैले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएका थिए । उक्त निवेदनको सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको हो ।