काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ । बैंकले लामो सयमदेखि बैंकिङ क्षेत्रमा संलग्न अर्यालको नियुक्तिले सुशासन र बैंकिङ जग थप मजबुत बनाउन सहयोग पुग्ने बताएको छ ।
यसअघि बैंकको स्वतन्त्र सञ्चालकमा पूर्वसचिवद्वय बालकृष्ण प्रसाईं र अवनिन्द्र श्रेष्ठ तथा प्रतिष्ठित वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ र अनिल ज्ञवालीले योगदान गरेका थिए ।
३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न अर्यालले तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.)बाट बैंकिङ करियर प्रारम्भ गरेका हुन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सात वर्षको कार्यअनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनले स्वदेश तथा विदेशमा गरी थुप्रै बैंकिङसम्बन्धी विशेष प्रशिक्षण लिएका छन् । अर्यालसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव छ ।
हाल सिटिजन्स बैंकले देशभर एक सय ८९ शाखा, एक सय ४९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढीलाई बैंकिङ सेवा प्रदान गरेको छ ।