काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ तानेको छ । बैंकहरुमा अहिले तीन खर्ब ६७ अर्ब भन्दा बढी लगानी योग्य रकम थुप्रिएको छ । यहीकारण निक्षेप संकलन उपकरण बिक्री गरेर राष्ट्र बैंकले तरलता व्यवस्थापन गरेको हो । राष्ट्र बैंकले मंसिर १२ गते पनि १० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट तानेको थियो ।
राष्ट्र बैंकका अनुसार बिहीबार अल्पकालीन अर्थात सात दिन अवधि तोकेर बोलकबोल माध्यमबाट १५ अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री गरेको हो । उक्त निक्षेप संकलन उपकरण मंसिर २१ गते परिपक्व हुनेछ । राष्ट्र« बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट सो रकम तानेको हो ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको अवस्थामा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दछ । बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यस उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोडले भाग जाने बराबर माग भएको सीमासम्मको रकम केन्द्रीय बैंकमा पार्क गर्न सक्नेछन् ।
यस उपकरणमा बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । केन्द्रीय बैंकले बैंकहरुले कर्जा विस्तार जथाभावी नगरुन र निक्षेपको ब्याजदर थप नघटाउन भन्ने उद्देश्यले बजारबाट अधिक तरलता भएको अवस्थामा रकम प्रशोचन गर्ने गर्दछ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ४० अर्ब रुपैयाँ छ । यसमध्ये ४९ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८१ दशमलव शून्य दुई प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग तीन खर्ब ६७ अर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता छ । अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारको ब्याजदर पनि साढे एक प्रतिशतहाराहारी झरेको छ ।