काठमाडौं । भक्तपुरको भीमसेनस्थानस्थित कुथु सुव्या दुगुद्यःको पुनः निर्माण सुरु भएको छ । जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी) झिकेर मन्दिर भत्काउन सुरु गरिएको हो । यो मन्दिर भीमसेनस्थानको भीमसेन मन्दिरको पश्चिम भोज खुवाउने स्थलको बीचमा रहेको छ । मन्दिर एकतल्ले मात्रै छ ।
मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले असन्तुलनमा छ । साथै, माथि छानामा पनि सबै झिंगतीहरू झरेर बिग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सबैतिर जीर्णजस्तै भइसकेको छ । मन्दिर पुनर्निर्माणका लागि विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणको लागि करिब ४४ लाखको लागत इस्टिमेट भएको छ । यो सबै रकम सहयोग जुटाई मन्दिर पुनर्निर्माण गर्ने योजनाअनुसार काम अगाडि बढाइएको उनले बताए ।
पहिलो चरणमा मन्दिर भत्काउने काम हुने उनले जानकारी दिए । त्यसपछि जग खनेर अनौपचारिकरूपमा जग हालेर काम सुरु गर्ने उनले जनाए । मन्दिरको पुनर्निर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ ।