काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत कर्मचारीहरुले सुविधा कटौतीविरुद्ध आज(शुक्रबार) करिब साढे १० बजेदेखि पाखुरामा कालो पट्टि बाँधेर विरोध जनाइराखेका छन् । उनीहरुले प्राप्त गर्दै आएको सुविधा कटौती गरेको र मासिक तलबबाट एक प्रतिशत रकम कट्टा गरि उपचार कोषमा जम्मा गर्नुपर्ने विषयमा असहमति जनाउँदै विरोध गरेका हुन् ।
आज बिहानदेखि कामनपा–३ स्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ शिक्षण अस्पताल इकाई समितिको आयोजनमा अस्पातलमा कार्यरत कर्मचारीहरुले विरोध जनाएका छन् । समितिका सभापती शिबराज गिरीको नेतृत्वमा करिब ४० जना भेला भई उनीहरुले शान्तिपूर्ण विरोध गरेका छन् ।
गिरीले अस्पतामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीलगायतले यसअघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेको र मासिक तलबबाट एक प्रतिशत रकम कट्टा गरि उपचार कोषमा जम्मा गर्नुपर्ने निर्णयको विषयमा गम्भीर असहमति जनाउँदै विरोध गरेको बताए ।