झापा । जङ्गली हात्तीले कुल्चेर झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको मृत्यु भएको छ ।
सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई शुक्रबार बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
चौकीदार वनको हात्तीको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको रिजालले बताए । उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको छ । एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो ।