काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाखभन्दा बढी रकम ठगी गर्ने एक युवा पक्राउ परेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई १७ लाख १७ हजार तीन सय रूपैयाँ ठगी गरेको अभियोगमा बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बास्कोटाले तीन जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेका थिए । पीडितबाट पटक पटक गरी उक्त रकम लिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बारा जीतपुरसिमरा उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।