काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने धादिङकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई ६ लाख आठ हजार रूपैयाँ ठगी गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकी थिइन् । उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।