काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरू दबाबमा छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले प्रणालीमा ५९ खर्ब ४० अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये बैंकहरूले ४९ खर्ब ७९ अर्ब रूपैयाँ लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूको मात्र कुल कर्जा रकम ४४ खर्ब छ अर्ब रूपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम पाँच खर्ब ७२ अर्ब रूपैयाँ छ ।
निक्षेप र कर्जाको बीचमा बैंकिङ क्षेत्रमा अहिले झण्डै नौ खर्ब ६१ अर्ब रूपैयाँको फरक छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जाबीचको अनुपात अर्थात् सीडी रेसियो भने ८१ दशमलव शून्य दुई प्रतिशत छ । यो अवधिमा अहिले बैंकिङ क्षेत्र अझै पाँच खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छ । तर, अहिले अर्थतन्त्रमा आएको संकुचनकै कारण कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्थामा छैनन् । यसो भन्नुको अर्थ बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता छ ।
बैंकिङ प्रणालीमा भएको यही अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले १० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज आइतबार अपराह्न २ बजेसम्ममा अल्पकालीन अर्थात् सात दिनको अवधि तोकेर बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा मौद्रिक उपकरण बिक्री गरिएको हो । निष्काशन मिति विसं २०८० मंसिर १७ गते तोकिएको निक्षेप संकलन उपकरणको साँवाब्याज भुक्तानी मिति २०८० मंसिर २४ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।