काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । काठमाडौँमा आइतबार यस वर्षको अहिलेसम्मकै चिसो भएको छ । अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार काठमाडौँमा न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् सरोज पुडासैनीले बताए । काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको उनले बताएका छन् ।
यसैगरी आइतबार राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।