काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रतिक्षालयमा बसिरहेका बेला एक यात्रुको ह्याण्डब्यागमा आगलागी भएको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि पिठ्युँमा झोला बोकेर प्रतिक्षालयमा बसिरहेका उनको सोही ब्यागमा आगो लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहका अनुसार एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको थियो । ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भौतिक क्षति भने भएन । अहिले ती यात्रु सकुशल छन् ।