काठमाडौं । एनआईसी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ । यस सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा तीन प्रतिशत प्रिमियम कायम गरिएको हो ।
जसअनुसार बैंकको मंसिर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा तीन प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ । बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जालगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने र कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ ।
हाल यस बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, छ सय ५६ एटिएम, एक सय ११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।