काठमाडौं । नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको कर छली र सेयर खरिदबिक्रीसम्बन्धी भ्रष्टाचार काण्डमा नेपालका सबै राजनीतिक दलका नेताहरूको सहभागिता रहेको प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सांसद अमरेशकुमार सिंहले वार्षिक एक सय मिलियन डलर नेपालका नेता र राजनीतिक दलका उच्चपदस्थ व्यक्तिलाई वितरण गर्नेगरिएको दाबी गरेका छन् ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गर्दै एक्जियटाका सीईओ विवेक सुदले नेपालको लोकल पार्टनरले दलका नेताहरूलाई रिझाउन वार्षिक एक सय मिलियन डलर खर्च गर्नेगरेको बताएका छन् ।
उनले गलत मनसायका साथ छ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको उनले बताए । एनसेलमा ठूलो चलखेल भएको उनको दाबी छ । एनसेल नेपालको सेयर हिस्सा ८० प्रतिशत रहेको रेनोल्डस होल्डिङको सम्पूर्ण सेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए ।
उनले एनसेलको सेयर बिक्रीको सम्झौतापत्रमा पाँच मिलियन डलर खरिद भएको छ महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको दाबी छ । सांसद सिंहले एनसेल कुल ५० मिलियन डलर अर्थात् छ अर्ब ६५ करोड नेपाली रुपैयाँमा बिक्री गर्ने सम्झौता भएको समेत बताएका छन् ।
एनसेलको सेयर बिक्रीमा नेपालका नेताहरूको पनि संलग्नता रहेको उनको ठोकुवा छ । उनले एनसेलका सेयर बिक्रीमा नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खरबौँ घाटा लागेको उनको दाबी छ । नेताहरूको भ्रष्टाचारकै कारण गणतन्त्र खतरामा रहेको पनि उनले बताए । आजियाटाको ग्रुप सीईओ विवेक सुदले आफूसँग नेपालको नेताहरूका कारण नै विदेशी लगानी भित्रिन नसकेको भनेर भनेको पनि सांसद सिंहले स्मरण गराए ।
छ अर्बमा कम्पनी बिक्री भए पनि एनसेलले नेपालका तीनवटा बैंकबाट ४० अर्ब ऋण लिएको उनले पत्रकार सम्मेलनमा खुलाएका छन् । एनसेलका भ्यालुएसन ६ अर्बमात्रै हो भने ऋण प्रवाह गर्ने बैंकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनको तर्क छ ।
एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ४० अर्ब ऋण लिएको उनले दाबी गरे । एनसेल छ अर्बमा बिक्री भयो भनेर पत्याउन नसकिने उनले बताए । नेपालको कर छली गर्नलाई सरकारकै मिलेमतोमा यूकेमा सो सम्झौता भएको उनले बताए । यूकेसँग नेपालको दोहोरो कर सम्झौता रहेको उनले बताए । सोही सम्झौताको फाइदा उठाउँदै खरिदबिक्री सम्झौता यूकेमा भएको उनले बताए ।
उनले एनसेलको २० प्रतिशत सेयरकर्ता शतिषलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म एक सय ५० मिलियन डलर लाभांश विदेश लगेको दाबी गरे । २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ट लगेको कम्पनीको सेयर ५० मिलियनमा बिक्री हुन्छ भनेर पत्याउन नसकिने उनको भनाइ छ ।
सांसद सिंहले आजका दिनमा एनसेलको भ्यालुयसन दुई खर्बभन्दा बढी रहेको दाबी अघि सारेका छन् । एनसेलको मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधिन रहेको बताउँदै उनले आगामी १९ गते तोकिएको पेशीमा चलखेल गरेर ५७ अर्ब कर छली गर्न खोजेको उनको दाबी छ ।
दूरसञ्चार नियमावलीमा पाँच प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नका लागि दूरसञ्चारबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको उनले बताए । आजियाटा बिक्रीको सम्झौता हुँदा उक्त स्वीकृति पनि नलिइएको भन्दै यसमा नेपालका सबै पार्टीका नेताहरूले कमिसन खाएको आरोप लगाएका छन् ।
पहिला शतप्रतिशत सेयर नेपालीको नाममा ल्याउने, एक÷दुई वर्षपछि आईपीओ जारी गर्ने, खरबौँ रुपैयाँ नेपाली जनताबाट लिने र पुनः २६ प्रतिशत सेयर विदेशीलाई दिने प्रयत्न भइरहेको उनले आरोप लगाए ।
सत्ता साझेदार दलकै सहभागितामा यस्ता प्रकारका कर छली र भ्रष्टाचार भइरहेको उनको आरोप छ । उनले नेता र दलप्रति जनताको विश्वास गुम्दै जानुको कारण भ्रष्टाचार नै भएको दाबी गरेका छन् ।
एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै उनले अहिले भएको अपारदर्शी खरिद–बिक्री नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने उनको भनाइ छ । छ अर्बमा एनसेल साँच्चै बिक्री हुने हो भने नेपाल सरकारले किन्नुपर्ने उनको सुझाव छ ।
स्पेक्ट्रलाइट यूके लिमिटेड तीन महिनाअघि सेप्टेम्बर २०२३ मा मात्रै खडा गरिएको कम्पनी भएको उनको दाबी छ । उनले एनसेललाई नेपाल सरकारको स्वामित्वमा आउन नदिने र त्यसको लाभ लिने चलखेलमा नेपालका चार÷पाँच जनाको संलग्नता रहेको बताए । ती संलग्न माफियाहरू महतो, आचार्य, ढकाल, सुमार्गी र सिंह थरका रहेको उनको दाबी छ ।