पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १९औँ लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।
महोत्सवमा कृषि तथा स्थानीय उत्पादनलाई विशेष महत्व दिइने र स्वदेशी उत्पादनको समेत प्रवर्द्धन गरिने संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ–संस्थाहरू, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका गरी तीन सय ३४ वटा स्टल रहनेछन् । महोत्सवलाई पोखरा इको रेड ब्रिक्सले मुख्य प्रायोजन र पशुपति बिस्कुट र हेटौंडा डेरीले सह–प्रायोजन गरेको बताइएको छ ।