कोलम्बो । श्रीलंकामा दैनिक नौ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुनेगरेको छ । तीमध्ये चार प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।
वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर संकलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विनानिगरानी सहजरूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।
श्रीलंकाले वार्षिक चार लाख मेट्रिक टन प्लास्टिक कच्चापदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्नेगरेको पनि सञ्चार विभागले जनाएको छ । सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक संकलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशन समेत दिएको छ ।
श्रीलंकामा पछिल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयोगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।