बेइजिङ । चीनमा ८५ लाख ४० हजारभन्दा बढी ऋणीहरु कालोसूचीमा परेका छन् । बैंकको ऋण तिर्न नसकेर ‘डिफल्ट’ हुने ऋणीको संख्या कोरोना महामारीयताकै उच्च विन्दुमा पुगेको छ ।
सरकारी अधिकारीहरुका अनुसार ऋणीहरुले घर धितोदेखि व्यापारिक ऋणको साँवाब्याज भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्नेहरुको संख्या बढेको हो ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउन र अन्य प्रतिबन्धहरुले आर्थिक वृद्धिमा अवरोध गरेको र मानिसहरुको आम्दानीमा कमी आएपछि धेरै ऋणी डिफल्टमा परेका छन् ।
कालोसूचीमा परेका अधिकांश ऋणीहरु १८ देखि ५९ वर्ष उमेर समूहका छन् । यो संख्या सन् २०२०को प्रारम्भमा भन्दा धेरै हो । उक्त बेला ५७ लाख ऋणीले कर्जा किस्ता तिर्न नसक्दा डिफल्टमा परेका थिए ।
ऋण तिर्न नसकेर डिफल्टमा पर्नेहरुको संख्याले चीनमा कति अर्थिक मन्दी छ भन्ने कुरा स्पष्ट हुन्छ । अर्थशास्त्रीहरुले चीनमा उपभोक्ताको विश्वास फर्काउन कठिन हुने देखिएको विशलेषण गरेका छन् ।
चीनमा कालोसूचीमा पर्नेहरुले हवाईजहाजको टिकट खरिद गर्न, ‘वीच्याट’ र ‘अलिपे’ लगायतका मोबाइल वालेटबाट भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ । यसले उपभोग झन खुम्चने र अर्थतन्त्र थप धाराशायी बन्ने सम्भावना बढेको छ ।