सिमकोट (हुम्ला) । सोमबार बिहानैदेखि हुम्लामा हिमपात सुरु भएको छ । हिमपातपछि यहाँको जनजीवन चिसो बढेसँगै कष्टकर बन्दै गएको छ ।
नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनको भनाइ छ ।
अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ । हिमपातका कारण सोमबार विहानैदेखि यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए ।
चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ ।
मुस्ताङमा पनि हिमपात
सोमबार बिहानैदेखि मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उहाँको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका हुँदा हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् ।
यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसकेको स्थानीय इन्द्रमान गौचनको भनाइ छ । उनले यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने बताए । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए ।