नयाँदिल्ली । भारतीय सेयरबजार सोमबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । प्रमुख दुई सेयरबजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ अहिलेसम्मकै उच्च विन्दुमा कायम भएका छन् ।
सेन्सेक्स सोमबार एक हजार तीन सय ८३ अंक (दुई दशमलव शून्य पाँच प्रतिशत)ले बढेर ६८ हजार आठ सय ६५ विन्दुमा पुगेको छ । यस्तै अर्को सूचक निफ्टी ५० चार सय १९ अंकले बढेर २० हजार छ सय ६९ विन्दुमा बन्द भएको छ ।
सोमबार वित्तीय र ऊर्जा क्षेत्रका कम्पनीहरुको सेयरमूल्य बढेपछि बजारले नयाँ रेकर्ड बनाएको हो ।
भारतीय अर्थतन्त्रमा क्रमिक सुधार देखिएपछि सेयरबजारमा उछाल आएकोे विश्लेषण गरिएको छ । गत सेप्टेम्बरमा भारतीय अर्थतन्त्रको विस्तार सात दशमलव ६५ प्रतिशतले भएको थियो । उत्पादन बढेपछि भारतीय अर्थतन्त्रमा राम्रो सुधार देखिएको हो । भारतीय सेयरबजारमा विदेशी लगानीकर्ता पनि पुनः प्रवेश गरिरहेका छन् । यसले लगानीकर्ताको मनोबल बढेको छ ।
यस्तै, विभिन्न राज्यमा भएको निर्वाचनको नतिजाले पनि बजारलाई साथ दिएको विश्लेषण गरिएको छ । चारवटा राज्यमा भएको राज्यसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी तीन राज्यमा बहुमतसहित विजयी भएको छ ।