काठमाडौं । ललितपुरस्थित झम्सिखेलमा प्रधान कार्यालय रहेको सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार शुभारम्भ भएको छ । कम्पनीले यही सोमबारबाट विधिवत्रूपमा कारोबार सुरु गरेको हो ।
पाँच जना कन्याहरूले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आ–आफ्नो नाममा सेयर खरिद गरी कारोबार सुरुवात गरिएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवित देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैंकको सेयर खरिद गरी सामाजिक उत्तरदायित्वअन्तर्गत भेटी स्वरूप चढाइएको छ ।
कारोबार सुरु गर्ने अन्य कुमारीहरूमा सेयरका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन् । खुला अर्थनीति र पुँजीबजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैका लागि खुला राख्ने नीतिअनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यही क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।