मोरङ । भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र ६४ वर्षीय नयराज नेपाल रहेका छन् । विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार आठ सय १२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार आठ सय ८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार छ सय ६७ रूपैयाँ जरिवाना फैसला भएको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गत साउनदेखि हालसम्म जम्मा दुई सय १५ जना फरार प्रतिवादीहरू पक्राउ गरि उनीहरूबाट कूल ८५ वर्ष १० महिना १५ दिन कैद र ६८ करोड ६८ लाख २६ हजार सात ३२ रुपैयाँ जरिवाना असुल गरेको छ ।