काठमाडौँ, जेठ ६
महालक्ष्मी विकास बैंकले कर्मचारीहरूको कोरोना बीमा गरेको छ । विश्वमाहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ आवश्यकता परिपूर्ति गर्नका लागि बैंकले आफ्ना शाखाहरू सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ । बैंकले कोभिड– १९ बाट भविष्यमा आइ पर्नसक्ने समस्याबाट बच्न उच्च सतर्कता अपनाउँदै एक वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड १९ बीमा गरिएको हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
हाल देशका सहरी तथा ग्रामीण स्थानमा गरी एक सय दुुईवटा शाखा र ३५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको जानकारी दिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्णरूपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।