काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
सो अवसरमा मङ्गलबार उपप्रधामन्त्री खड्कासँग संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले शिष्टाचार भेट गरे । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको उपप्रधानमन्त्री खड्काले जानकारी दिए । त्यसका लागि संयुक्त राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे ।
उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि भेट गरे । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरुप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिशनहरूमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले महासचिवले निरन्तरको तापक्रम वृद्धिका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा नेपाल चिन्तित रहेको र दुबईमा जारी कोप–२८ मा त्यससम्बन्धमा जोडदार रूपमा नेपालले आवाज उठाएको बताए ।
सम्मेलनका अवसरमा घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले उपप्रधानमन्त्री खड्कासँग शिष्टाचार भेट गरे । नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै रक्षामन्त्री नितिउअलले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले कतिपय शान्ति ‘मिशन’मा घाना र नेपाली शान्ति सैनिकले मिलेर काम गरेको पनि उल्लेख गरे ।
त्यस अवसरमा घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकामा उपप्रधानमन्त्री खड्काले धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे ।