काठमाडौं । इ–सेवा मनि ट्रान्स्फर र कतारको अल फरदान एक्सचेन्जबीच सम्झौता भएको छ । दुई कम्पनीबीच रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने सम्झौता भएको इ–सेवाले जनाएको छ । सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ ।
यो सम्झौतासँगै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले अल फरदान एक्सचेन्जको १६ शाखाहरू वा मोबाइल एपबाट नेपालमा इ–सेवा मनि ट्रान्स्फरमार्फत पैसा पठाउन सक्ने कम्पनीको भनाइ छ । अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स इ–सेवा मनि ट्रान्स्फरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरूका साथै इ–सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
इ–सेवाले मनि ट्रान्सफरको परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको बताएको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इ–सेवा मनि ट्रान्सफर एफवान सफ्ट ग्रुपअन्तर्गतको कम्पनी हो ।