काठमाडौँ । पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको जानकारी दिए ।
“पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ” उनले भने ।