काठमाडौँ, जेठ ६
आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्पूर्ण (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीहरूको कोरोना माहामारीविरुद्धको बीमा गरेको छ । संस्थाले आफ्नो संस्थामा काम गर्ने हरेक कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै विश्वव्यापी माहामारीको रूपमा फैलियको कोरोना भाइरस (कोभिड १९) विरुद्धको बीमा गरेको हो । संस्थाले प्रभु इन्स्योरेन्समार्फत कोरोना बीमा गरेको हो । बीमा भएपश्चात् अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरूमा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपूर्ति स्वरूप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा‘ भन्ने मूल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरूका ५५ शाखा कार्यालयहरूमार्फत करीब ५५ हजार सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब दुुई अर्ब ३१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट ७३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।