मोरङ । विराटनगर महानगरपालिका–७ सात घुम्तिस्थित कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक मण्डल, सोही महानगरपालिका–६ बस्ने ६५ वर्षीया सुनिता कामत र ५५ वर्षीया सुशिला पासवान रहेका छन् ।
आगलागीमा परी सुशिला पासवानको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका दिपक मण्डलको न्यूरो अस्पताल र सुनिताको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आगोले जलेर घाइते भएका अन्य तीन जनाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।
उक्त आगलागीबाट अन्जुला कवाडी र रिया ट्रेडर्सको कवाडीको सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, सोही ठाउँस्थित नरेश राठी र महेश राठीको घरकोठामा रहेको एसी मेसिन १० थान, झ्यालको पल्ला, ट्वाईलेटको सरसामान जलेर करिब १५ लाख गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दालगायत दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।