काठमाडौं । सुनका विभिन्न गरगहना तथा नगदसहित दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले जम्मा १३ लाख ५० हजार रूपैयाँ बराबरको गरगहना तथा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।