खोटाङ । सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा क्याप्टेन सुनिलसहित उनकी पत्नी रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जेल चलान भएका हुन् ।
खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा बिहीबार साँझ उनीहरु जेल चलान भएका छन् । सुनिल र उनकी श्रीमती रविनालाई गत असोज १३ गते तथा प्रबन्धक जोशीलाई असोज १७ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।
क्याप्टेन सुनिल लालुपाते सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन् । अनिलको भने मृत्यु भइसकेको छ । तत्कालीन अध्यक्ष जोशीको निधनपछि २०७८ वैशाख–१६ गतेदेखि उक्त सहकारी बन्द छ ।