काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो एक वर्षमा झण्डै ६० लाख निक्षेप खाता थप भएको देखिएको छ । गत आवको असोज मसान्तमा लघुवित्तबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा कुल चार करोड ६२ लाखको हाराहारीमा निक्षेप खाता सञ्चालनमा थिए । तर, चालू आवको पछिल्लो अवधिमा भने यस्तो खातासंख्या ५९ लाख ८० हजारले बढेर पाँच करोड २१ लाखको हाराहारीमा पुगेको छ । यस अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुल ५४ वटा संस्थाहरुमा सञ्चालनमा रहेको कुल कर्जाखाताको संख्या भने १४ हजार एक सय ३५ वटाले मात्र बढेको छ । सोअनुसार गत आवको असोज मसान्तमा कुल १८ लाख ३४ हजार नौ सय वटाको हाराहारीमा कर्जा खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो खातासंख्या बढेर १८ लाख ४९ हजार पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुमा मात्र कुल निक्षेप खाताको संख्या ४९ लाख ३३ हजार आठ सयले बढेको छ । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमा कुल तीन करोड ९८ लाख ८० हजार तीन सयको संख्यामा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो खातासंख्या बढेर चार करोड ४८ लाख १४ हजार दुई सय पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरुमा कुल कर्जाखाताको संख्या भने २० हजार एक सय २५ वटाले मात्र बढेको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमा १४ लाख ९८ हजार छ सयको हाराहारीमा कर्जाखाता सञ्चालनमा रहेकोमा अहिले यस्तो संख्या बढेर १५ लाख १८ हजार सात सयको हाराहारीमा पुगेको छ । विकास बैंकहरुमा भने पछिल्लो समय निक्षेप खाताको संख्या बढे पनि कर्जाखाताको संख्या घटेको देखिएको छ । गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुमा कुल ५६ लाख ५३ हजार पाँच सय ९४ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो खातासंख्या नौ लाख १३ हजार तीन सय ८९ वटाले बढेर ६५ लाख ६६ हजार नौ सयको हाराहारीमा पुगेको छ । यस अवधिमा विकास बैंकहरुमा भने कर्जा खातासंख्या गत आवको सोही अवधिको तुलनामा छ हजार दुई सयवटाले घटेको छ । सोअनुसार गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुमा दुई लाख ९४ हजार सात सयवटाको हाराहारीमा कर्जाखाता सञ्चालनमा रहेकोमा अहिले घटेर दुई लाख ८८ हजार चार सयवटामा झरेको छ ।
फाइनान्स कम्पनीहरुमा भने पछिल्लो अवधिमा निक्षेप तथा कर्जा खाता दुवै बढेको देखिएको छ । गत आवको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरूमा छ लाख ६८ हजार सातको हाराहारीमा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले एक लाख ३३ हजार छ सयवटाले बढेर आठ लाख दुई हजार तीन सयको हाराहारीमा पुगेको छ । यस अवधिमा कर्जाखाताको संख्या पनि गत आवको सोही अवधिको तुलनामा तीन सयवटाले बढेर ४१ हजार नौ सयको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या ४१ हजार छ सयवटा थियो ।