विराटनगर । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार निरीक्षण गरेका छन् । बेलबारी १० भाउन्नेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।
झापा, मोरङ र सुनसरीका विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा गएराति हात्तीले क्षति पुर्याएको थियो । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एकरएकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बताए । निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याएको कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले बताए ।