काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै सात लाखभन्दा बढी ठगी गरेको अभियोगमा जुम्लाका ३३ वर्षीय धर्मेन्द्र शाही पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा बस्ने उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
शाहीले वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख लाग्छ र मासिक एक लाख १० हजार रुपैयाँ तलबमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनेर दुई जना व्यक्तिलाई ठगी गरेका थिए । पीडितहरुबाट पटकपटक गरी सात लाख पाँच हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए ।
ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जावलाखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।