काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको हो ।
राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिनेछ । ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पनि पुनरावलोकन गरिने राष्ट्र बैंकको भनाइ छ । यसैगरी लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूले कर्जा पुनर्संरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरूको कर्जालाई पुनर्संरचना गर्नसक्ने व्यवस्था गरेको छ ।