काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेटिएका निर्देशनहरूको कार्यान्वयनले बैंकहरूलाई सहज हुन बताएका छन् । शुक्रबार चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेपश्चात् काठमाडौंस्थित होटल म्यारियटमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारी मौद्रिक नीति कार्यान्वयनले अर्थतन्त्रलाई सहज बनाउने बताएका हुन् ।
विगतमा लिइएका नीतिगत व्यवस्था, आयातमा आएको कमी र उल्लेख्य विप्रेषण आप्रवाहका कारण शोधनान्तर स्थितिमा सुधार देखिए पनि आन्तरिक उत्पादन क्षमता कमजोर रहेको पृष्ठभूमिमा यस्तो सुधारलाई टिकाइराख्न चुनौतीपूर्ण रहेको गभर्नर अधिकारीको भनाइ थियो । अहिले शोधनान्तर स्थितिमा आएको सुधार र आन्तरिक आर्थिक अवस्थालाई दृष्टिगत गरी नीतिगत व्यवस्थाहरूमा लचकता अपनाउँदै लगिएको भन्दै उनले भूकम्पपछि सुरु हुने पुनर्निर्माण र आन्तरिक उत्पादन, आयात तथा व्यापार सन्तुलनको विगतको प्रवृत्तिलाई हेर्दा व्यापारघाटा बढ्ने र बाह्य क्षेत्र पुनः दबाबमा पर्ने जोखिम रहेको बताए । यो अवस्थामा आन्तरिक उत्पादन क्षमता र मागको बीचमा सन्तुलन कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको भन्दै गभर्नर अधिकारीले यी सबै परिस्थितिहरूलाई पुनर्विचार गरेर आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको सजगतापूर्वक लचिलो कार्यदिशालाई कायमै राखिएको बताए ।
‘राष्ट्र बैंकले समीक्षामार्फत घरजग्गा र सेयरको जोखिम भार घटाइसकेको छ, यो अवस्थामा बैंकहरूको ५० अर्ब रुपैयाँ लगानीयोग्य रकम निस्कन्छ । यसबाट बजारमा लगानीयोग्य बढ्छ र बैंकहरूलाई सहज हुन्छ’, गभर्नर अधिकारीले भने । यसअघि भने राष्ट्र बैंकले घरजग्गा कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जामा एक सय ५० प्रतिशत जोखिम भार राखिएको थियो । जोखिम भार घटाउँदा झण्डै ५० अर्ब रुपैयाँ बाहिर निस्कने र यो रकम विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने गभर्नर अधिकारीको भनाइ छ ।