काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही मंंसिर २७ गतेबाट अङ्कित मूल्य एक सय रुपैयाँमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी अंकित मूल्य दुई सय छ रुपैयाँमा एक करोड १८ लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी १० अर्ब रुपैयाँमा ३० प्रतिशतका दरले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकोमा प्रिमियम थप गरी साधारण सेयरको बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही मंसिर २७ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस एक गते र ढिलोमा यही पुस ११ गते बन्द हुने बताइएको छ ।
बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशतका दरले हुन आउने छ लाख कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि, १० प्रतिशतका दरले हुन आउने ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेका जनताका लागि, पाँच प्रतिशतका दरले हुन आउने १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीका अनुसार खरिदर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।