भैरहवा । राजकीय थाई विहार लुम्बिनीको आयोजनामा थाइल्याण्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितिमा बुद्ध जन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट तीन हजार ७५५ जना सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् । उक्त शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलवस्तु र रामग्रामका स्थानीयहरुले लाभ लिएका हुन् ।
राजकीय थाई विहारले चार दिनसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको जनाएको छ । विहारका प्रमुख भिक्षु सुफोतले लुम्बिनी वरपरका मानिसहरुलाई सेवा दिने उद्देश्यले १४ औं संस्करणका रुपमा निःशुल्क आँखा शिविर गरिएको बताए ।
काठमाडौं तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोइत, थाइल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डा. स्वात कौशाकुलसहितको स्वास्थ्यकर्मीहरुको टोली आँखा शिविरको उपचारमा खटिएका थिए ।