काठमाडौँ । घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री एव् रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार स्वदेश फर्किएका छन्।
नेपाली टोलीको नेतृत्व गर्दै उपप्रधानमन्त्री खड्का मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा सहभागी भएका थिए । टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीको सहभागिता थियो।
सम्मेलनमा मन्त्री खड्काले संयुक्त राष्ट्र संघको सुधार प्रयासमा नेपाल सधै सकारात्मक र प्रतिबद्ध रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरु सदैव संवेदनशिल रहँदै आएको बताएका थिए।
सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो।
सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गरेको छ। सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघले विशेष महत्व दिँदै सराहना गरेको थियो।