संयुक्त राष्ट्र इमिरेट्स (युएई) को दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) को पहिलो सातामै जलवायु कार्यका लागि ८३ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनको घोषणा भएको छ।
खाद्य तथा स्वास्थ्य प्रणाली रूपान्तरण, नवीकरणीय ऊर्जा र दक्षता तथा अत्यधिक उत्सर्जन गर्ने ठुला उद्योगलाई कार्बनशून्य (डिकार्बोनाइज) शीर्षकमा पनि पहिलोपटक यस्तो रकम घोषणा गरिएको छ।
कोप २८ का अध्यक्षको सचिवालयका अनुसार यो सम्मेलनको दौरानमा ११ वटा प्रतिबद्धता र घोषणा सार्वजनिक भएका हुन । यो कोषमा युएई, जर्मनी र फ्रान्सले १०र१० करोड अमेरिकी डलरको हाराहारीमा रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ भने बेलायतले ५ करोड र डेनमार्कले २ करोड ५० लाख डलर दिने वाचा गरेको छ। यो कोषबाट नेपाललगायतका कम विकसित मुलुक जसले जलवायुजन्य विपत्का घटना बढी बेहोरिरहेका छन् ती मुलुक लाभान्वित हुने अपेक्षा राखिएको छ ।