काठमाडौं । केही महिनाअघिसम्म लगानीयोग्य रकम नभएर बैंक तथा वित्तीय संस्थाहरू निकै छट्पटाएका थिए । आर्थिक मन्दीले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म बैंकहरूमा लगानीयोग्य रकमको समस्या देखिएको थियो । त्यसपछि बैंकहरूले नयाँ कर्जा प्रवाहलाई रोक्दै गए । ब्याजदर बढाउँदै लगे । कर्जा प्रवाहमा भन्दा असुलीमा जोड दिए । ब्याजदर बढेपछि बजारमा कर्जाको माग हुनै छाडेको थियो । तर, अहिले परिस्थिति फेरिएको छ । बैंकहरूसँग अधिक तरलता छ । राष्ट्र बैंकको तथ्यांक हेर्दा अहिले बैंक तथा वित्तीय संस्थासँग पाँच खर्ब रूपैयाँ लगानीयोग्य पैसा छ ।
राष्ट्र बैंकको मंसिर १९ गते अध्यावधिक भएको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ५९ खर्ब ७५ अर्ब रूपैयाँ निक्षेप छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप र कर्जाबीचको अन्तर नौ खर्ब ९५ अर्ब रूपैयाँ देखिएको छ ।
वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप ५२ खर्ब ८४ अर्ब रूपैयाँ छ । वाणिज्य बैंकहरूले ४४ खर्ब सात अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूको निक्षेप र कर्जा रकमबीचको अन्तर आठ खर्ब ७७ अर्ब रूपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप छ खर्ब ९० अर्ब रूपैयाँ छ भने पाँच खर्ब ७४ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप र कर्जाको अन्तर एक खर्ब १६ अर्ब रूपैयाँ छ । बैंकिङ क्षेत्रको निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) भने ८० दशमलव ६१ प्रतिशत छ । यसो भन्नुको अर्थ अहिले बैंकिङ क्षेत्रसँग पाँच खर्ब रूपैयाँभन्दा बढी थप कर्जा प्रवाह गर्नसक्ने क्षमता छ । तर, बजारमा कर्जाको माग नहुँदा बैंकिङ क्षेत्रमा अधिक तरलता थुप्रिएको छ ।
बैंकिङ प्रणालीको अधिक तरलतालाई सन्तुलनमा राख्नको लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर महिनामा मात्रै आठ पटक अल्पकालीन अवधिको मौद्रिक उपरण प्रयोग गरेर एक खर्ब २५ अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट तानेको छ । राष्ट्र बैंकको मंसिर छ गते सातदिने अवधिको १० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो । यस्तै, मंसिर १२ गते पुनः सात दिन अवधिको १० अर्ब रूपैयाँ, मंसिर १५ गते सात दिन अवधिको १५ अर्ब रूपैयाँ र मंसिर १७ गते पुनः सात दिने अवधिको १० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो । वित्तीय प्रणालीमा निक्षेप बढी भई लगातार दबाब परेपछि केन्द्रीय बैंकले अधिक तरलतालाई नियन्त्रणमा राख्न मंसिर २० गते सात दिन अवधिको १० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण बिक्री गरेको थियो । लगत्तै मंसिर २१ गते पनि १४ दिन अवधिको २५ अर्ब रूपैयाँको निक्षेप संकलन जारी गरेको थियो । मंसिर २२ गते पुनः १४ दिन अवधिको २५ अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको राष्ट्र बैंकले अधिक तरलतालाई नियन्त्रणमा राख्नकै लागि मंसिर २४ गते आइतबार पनि सात दिन अवधिको २० अर्ब रूपैयाँबराबरको निक्षेप उपकरण जारी गरेको छ ।
राष्ट्र बैंकका अनुसार हालसम्म बिक्री गरेका कुल निक्षेप उपकरणमध्ये पछिल्लो समय जारी भएका चारवटाबाहेक बाँकी उपकरण परिपक्व भइसकेका छन् । पछिल्लो पटक जारी भएकामध्ये मंसिर २४ गते जारी भएको सात दिन अवधिको निक्षेप संकलन उपकरण परिपक्व हुने मिति पुस एक गते, मंसिर २२ गते जारी भएको १४ दिन अवधिको परिपक्व हुने मिति पुस छ गते, मंसिर २१ गते जारी भएको १४ दिन अवधिको उपकरण परिपक्व हुने मिति पुस पाँच गते र मंसिर २० गते जारी भएको सात दिन अवधिको उपकरण परिपक्व हुनेछ ।
अधिक तरलताको असर
तरलता अभाव हुँदा अर्थतन्त्रमा जसरी समस्या पर्छ त्यस्तै अधिक तरलता भयो भने पनि अर्थतन्त्र प्रभावित हुन्छ । तरलता अभाव हुँदा कर्जा प्रवाह रोकिन्छ र बजारमा मन्दी सुरु हुन्छ । अधिक तरलता भयो भने बैंकहरूको ब्याजखर्च बढ्न गई मुनाफा प्रभावित हुन्छ । यसपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँछन् र निक्षेपकर्ताहरू प्रभावित हुन्छन् । बैंकहरूले ब्याजदर घटाउँदा प्रवाह भएको कर्जा अनुत्पादक क्षेत्रमा जाने जोखिम बढ्छ ।
सेयरबजार र घरजग्गाजस्ता क्षेत्रमा कर्जाको माग बढ्न सक्छ । आयातका लागि कर्जाको माग बढ्न सक्छ । यसले पुँजी अनुत्पादक क्षेत्रमा प्रयोग हुने जोखिम निम्त्याउँछ । ब्याजदर घटेपछि बचत प्रभावित भई पुँजी पलायन हुन सक्छ । बैंकमा कम ब्याज पाउँदा सुपरीवेक्षणबाट टाढा रहेको सहकारी क्षेत्रमा पैसा जान्छ । जसले वित्तीय जोखिम निम्त्याउँछ ।