काठमाडौं । सिटिजन बैंकको गोदामलगायत अन्य ठाउँमा आगलागीबाट लाखौंको क्षति भएको छ । प्रहरीका अनुसार आइतबार लागेको आगोबाट बैंकको गोदाम, कपिलवस्तुस्थित सेनिटरी प्याडको गोदाम र उदयपुरस्थित पसल, घरहरु पूर्णरुपमा जलेर नष्ट भएको हो ।
रूपन्देहीको सैनामैना नगरपालिका–८ बासँगढीस्थित सिटिजन बैंकको गोदाममा तार सर्ट भई गएराति आगलागी भएको छ । उक्त गोदाममा लागेको आगलागीबाट कति क्षति भयो भन्ने विवरण भने हाल खुलिसेकेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ कालिका टोलस्थित सोही ठाउँ डेरा गरी बस्ने राजेश उपाध्यको सेनिटरी प्याडको गोदाममा ईन्भटरको तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब तीन लाख ३२ हजार रूपैयाँ बराबरको प्याड जलेर नष्ट भएको छ ।
त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–११ टेम्पु चोकस्थित राज अटो पार्टस पसलमा आइतबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर नजिकै रहेको चार वटा घरहरु पूर्ण रूपमा र पाँच वटा घर आंशिक रुपमा जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।