काठमाडौँ । काठमाडौँमा आगामी वैशाख ९ र १० गते आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । अर्थमन्त्रालयमा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको जानकारी दिए । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।
नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो । अर्थमन्त्री महतले साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने भन्दै नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेका जानकारी दिए । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको उनले बताए । विकास साझेदारसँगको छलफलमा अर्थमन्त्री महतले सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौँ भने ।