काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आज(मंगलबार) पदबाट राजीनामा दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मंगलबार थानीले राजीनामा पत्र बुझाएको जानकारी गराएका हुन् ।
राजीनामाका कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् । उनको राजीनामा भोलि बुधबार २७ मंसिरबाट लागू हुने छ । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।
थानी तीन वर्षका लागि २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो ।